images
images

झापाका हजारौं मानिसमा हात्तीपाइलेको आँकलन, धमाधम भेटिन थाले रोगी

झापा- झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरू भेटिन थालेका छन्।

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत घरदैलो अभियान चल्दै गर्दा जिल्लाका सबै पालिकाहरूमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरू भेटिएका हुन्।

गत वर्षको तथ्यांक अनुसार झापामा १५० को हाराहारीमा हात्तीपाइलेका रोगीहरू भेटिएका थिए। यसवर्ष त्यसको निकै गुणा रोगीको संख्या बृद्धि हुने आँकलन गरिएको छ।

जिल्लाका २० प्रतिशत विरामीहरू मात्र खुलेर बाहिर आएको र ८० प्रतिशत बिरामीहरू लुकेर बसेकाले यस वर्षको अभियानमा त्यस्ता धेरै विरामीहरू भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीले बताए। हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सम्पन्न भइसकेपछि नयाँ थपिएका विरामीहरुको संख्या यकिन हुने कार्यालय प्रमुख बराकोटीले जानकारी दिए।

कचनकवल गाउँपालिकाका- ७ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको तथ्यांक छ। जवकि त्यहाँको जनसंख्या ४२ हजार ९१२ रहेको छ। त्यस आधारमा त्यहाँ मात्र ३ हजारभन्दा बढी हात्तीपाइलेका विरामी रहेको समीक्षा गरिएको छ।

त्यस्तै, झापा गाउँपालिकामा- ४ प्रतिशत हात्तीपाइलेको विरामी रहेको तथ्यांक छ। झापा गाउँपालिकाको कुल जनसंख्या ३९ हजार ३०२ को ४ प्रतिशत भनेको करिब १५७२ जना हो। यसरी झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरू रहेका छन्।

बिर्तामोडमा गतवर्ष एक जना हात्तीपाइलेको विरामी सार्वजनिक भएकोमा यस वर्ष खोज्दै जाँदा करिब १० जना नयाँ विरामी भेटिसकेको र अझै भेटिने क्रममा रहेको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए।

बिहीबार भद्रपुरमा एकजना रोगी भेटिएका थिए। भद्रपुर- ९ हडिया चिया बगानमा कार्यरत एकजनामा हात्तीपाइलेको लक्षण पाइएको नगर स्वास्थ्यकर्मी एलवि पन्तले जानकारी दिए। त्यस्तै, कमल गाउँपालिकाभित्र औषधि खुवाउने क्रममा एक जना महिलामा हात्तीपाइलेको लक्षण देखिएको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए।

त्यस्तै, मेचीनगरमा पनि हात्तीपाइलेका लक्षण भएका विरामीहरू फेला परेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन्।

जिल्लामा ठूलो संख्यामा हात्तीपाइलेको रोगी रहेकाले रोगलाई नियन्त्रण गर्न भ्रामक हल्लाको पछि नलागी ढुक्क भई आम औषधी सेवन गर्न सम्पूर्ण जिल्लावासीलाई वरिष्ठ जनस्वास्थ्य अधिकृत बाह्रकोटीले अनुरोध गरेका छन्।

आधाभन्दा बढीले खाए हात्तीपाइलेको औषधि
हात्तीपाइलेरोगविरुद्धको औषधि सेवन कार्यक्रमअन्तर्गत झापाका आधाभन्दा बढीले औषधि खाएका छन्। वैशाख १६ गतेदेखि सुरू भएको हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने कार्यक्रमअन्तर्गत वैशाख २३ गते अर्थात आठौं दिनसम्म जिल्लाका ५६ प्रतिशतले औषधि खाइसकेका छन्।

जिल्लाको कुल जनसंख्या १० लाख १२ हजार ६४२ मध्ये आठौं दिनसम्म ५ लाख ७६ हजार ८९३ जनाले हात्तीपाइलेको औषधि खाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। जुन ५६.९६ प्रतिशत हो।