images
images

सरकारी मिडिया सरकारका भजनमण्डली मात्र बन्नु हुँदैन: मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको स्वीकार गरेकी छिन्। सोमबार काठमाडौंमा गोरखापत्र प्रकाशनको १२४औं वर्ष प्रवेशको अवसरमा बोल्दै उनले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको बताएकी हुन्।

मन्त्री शर्माले जातीय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेको भए पनि आजसम्म पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिन्। व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्नुको पछाडिको कारणहरु पत्ता लगाई सरकारी सञ्चार माध्यमबाट जनता समक्ष लैजान आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री शर्माले भनिन्, ‘हामी अहिले नयाँ समयमा छौँ। नयाँ समयमा गइसकेपछि हामीले त्यही ढंगबाट अघि बढ्नुपर् । हामीले संविधानमा मौलिक हकका धेरै राम्रा व्यवस्था गरेका छौँ। जातीय छुवाछुत, लैङ्गिक समानता लगायतका थुप्रै विषयहरु संविधानमा व्यवस्थित गरेका छौँ। तर त्यो कुरा आजका दिनमा पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन।’