images
images

जसपा फुटको असर मधेसमा नपरेको मुख्यमन्त्रीको दाबी, भन्छन्- सबै सांसद उपेन्द्र यादवकै पक्षमा

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि मधेस प्रदेशमा संसदीय दलको बैठक बसेको छ।

कुल १९ जना सांसद रहेकोमा बैठकमा १६ जना प्रदेशसभा सदस्यहरू मात्रै पुगेका थिए। सरोज सिंह कुशवाहा, शारदा शंकर साह र साहिदा खातुन बैठकमा अनुपस्थित थिए।

अनुपस्थित भएका सांसदहरूमध्ये साह र खातुन विवाहमा व्यस्त रहेको र कुशवाहा पार्टीकै काममा व्यस्त रहेको मुख्यमन्त्री सरोजकुमार यादवले बताए।

केन्द्रमा पार्टी फुटेपनि प्रदेशमा सबै सांसदहरू एकढिक्का भएर उपेन्द्र यादवकै पक्षमा रहेको मुख्यमन्त्री यादवले दावी गरे।

मधेसमा आफूहरू सरकारमा रहने वा नरहने संघमा बन्ने समीकरणले निर्धारण गर्ने उनको भनाइ छ।

प्रदेशसभा सदस्य राम आशिष यादवले बैठकमा प्रदेश सभामा देखिएको गतिरोध हटाउनको लागि संवादलाई अगाडि बढाउने निर्णय समेत भएको बताए।

जनमत पार्टीले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यासमा  प्रहरीले गरेको हस्तक्षेपको संसदीय छानविन समिति गठन र मुख्यमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै प्रदेशसभा बैठक अवरोध गर्दै आएको छ।

प्रदेशसभाको गतिरोध हटाउने सबै पार्टीसंग संवादलाई अगाडि बढाउने निर्णय भएको यादवले जानकारी दिए।

यस्तै, बैठकमा सहभागि प्रदेश सभा सदस्य एवं पार्टीका प्रवक्ता मनिष सुमनले पार्टी विभाजनको असर मधेसमा नपर्ने बताए। उनले पार्टीमा देखिएको विषयमा अध्यक्ष सोमबार अमेरिकाबाट फर्केपछि यस विषयमा बैठक गरेर पार्टीले अधिकारिक धारणा राख्नेसमेत बताए।