ग्वार्को फ्लाइओभर निर्माणको लापरबाहीले सास्ती

ललितपुर : इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। उनी सधैँ त्यही बाटो भएर आफ्नो दैनिक कार्यालय जानेआउने गर्छन्। काममा जाँदा आउँदा सधैँ उनलाई एउटा पीरले सताउँछ। ग्वार्को चोकमा निर्माणधीन फ्लाइओभरको अव्यवस्थित निर्माण सामग्री र सवारीजामले उनलाई सधैँ पिरोल्ने गरेको उनी बताउँछन्।

दैनिकी ग्वार्को चोकबाट सातदोबाटोतर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नुपर्ने हुन्छ। फ्लाइओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरुले गर्दा निकै जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। जाम खुल्दा सार्वजनिक सवारीहरु पेलिएर आउँदा निकै डराउँदै हिँड्नुपर्ने उनी बताउँछन्।

उनी जस्तै साना सवारी होस या ठूलो सवारी त्यसरी नै जोगिँदै हिँड्नुपर्ने बाध्यता छ। रड मात्र नभई फ्लाई ओभर निर्माणस्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिँड्नुपर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको छ।

निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको छ। निर्माण स्थल ढाकिएका ठूला डिभाइडर भित्रबाट रड निस्किएको छ। निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोरदोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो। तर, ग्वार्कोबाट सातदोबाटो जाने तर्फको करिब सय मिटर क्षेत्रमा डिभाइडरबाट ठूला–ठूला रड निस्किएका छन्।

सडकमै निस्किएको उक्त रडले ठूलै दुर्घटना निम्त्याउन सक्ने र जोगिएर हिँड्नुपर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो छ। कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्यसमेत देख्न पाइन्छ।

निर्माण क्रममा सडकबाट निकालिएका फलामेबारहरु पनि बेबारिसे अवस्थामा फालिएको छ। काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य गरिरहेको छ। फ्लाई ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयक सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ र ठेक्का सम्झौताअनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ।

निर्माण कार्य भइराख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ र वैकल्पिक बाटो सानो र जामले निर्माण स्थल हुँदै हिँड्नुपर्ने बाध्यता छ।