काठमाडौँ-उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् ।
राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका थिए ।
यादवले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गरेका थिए ।
यादव अमेरिकामै रहँदा उनकाे पार्टी जसपाका अर्का नेता अशोक राईले पार्टी फुटाएका थिए ।