images
images

मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन, २० हजार ८७८ दर्शक क्षमता

काठमाडौं ।

राष्ट्रिय गौरवको आयोजनामा परेको मुलपानी क्रिकेट मैदानको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थितिमा मुलपानी मैदानको डिजाइन र संरचनाबारे पुल्चोक इन्जिनियरिङ कलेजले डिजाइन प्रस्तुत गरेको हो।

डिजाइनअनुसार हालको तल्लो मुलपानी मैदानलाई प्रमुख मैदानको रूपमा निर्माण गरिनेछ। जहाँ २० हजार ८ सय ७८ दर्शक क्षमता रहनेछ। यो स्टेडियमको मुख्य विशेषता भनेको मैदानमा जडान गरिने सब–एयर प्रविधि हुनेछ। उनीहरूका अनुसार पानी परेको दशदेखि बाह्र मिनेटभित्र खेल खेल्न मैदान तयार हुनेछ।

डिजाइनमा तल्लो र माथिल्लो मुलपानी मैदान दुवै रहेका छन्। स्टेडियममा तीन तल्लाको भुमिगत पार्किङ, पुरूष र महिलाका लागि तीन सय क्षमताको होस्टेल, पौडीपोखरी, सुविधा सम्पन्न प्रशिक्षण केन्द्र, फ्लडलाइट, साउन्ड सिस्टम, डिजिटल डिसप्ले बोर्ड, छ लेनको इन्डोर प्रशिक्षण सभा, आउटडोर प्रशिक्षण स्थललगायतका संरचना रहेका छन्। हालको माथिल्लो मुलपानी मैदान प्रशिक्षण मैदानको रूपमा रहनेछ।

खेलकुदको बृहत परियोजनाको रूपमा रहेको मुलपानी क्रिकेट मैदानको प्रस्तुत सो डिजाइनमा सम्पन्न गर्न ७ अर्ब ३४ करोड ७० लाखको बजेट लाग्ने अनुमान गरिएको छ। गत कात्तिक २३ गते राष्ट्रिय गौरवको आयोजनामा परेपछि परिषद्ले निर्माणको लागि पुल्चोक इन्जिनियरिङ कलेजसँग सम्झौता गरेको थियो । सोही अनुरूप कलेजले सोमबार डिजाइन प्रस्तुत गरेको हो।

खेलकुद मन्त्री श्रेष्ठले यो वर्ष नै मैदानको लागि ५० करोडदेखि १ अर्बसम्मको बजेट निकासा हुने संभावना रहेको बताए। मन्त्रीले स्टेडियमको डिजाइनमा दर्शकको सुरक्षा नै प्रमुख रहने भन्दै सबैभन्दा बढी त्यसैमा ध्यान दिनुपर्ने बताए। यो डिजाइनमा अझै काम गर्न पनि उनले निर्देशन दिएका छन्।