images
images

नफुटी मिलेर जान उपेन्द्रलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । उपप्रधान एवम् स्वास्थ्यमन्त्रीसमेत रहेका यादव सोमबार रातिमात्रै काठमाडौं आइपुगेका हुन् ।

त्यसपछि उनी मङ्गलबार बिहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए ।  यादव अमेरिका भ्रमणमा रहेका बेला उनको दल जनता समाजवादी पार्टी, नेपाल विभाजित भएको छ । पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोक राईले १२ मध्ये ७ सांसद लिएर जनता समाजवादी पार्टी गठन गरेका छन् । जसले निर्वाचन आयोगबाट वैधानिकतासमेत पाइसकेको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले यादवलाई मिलेर जान सुझाव दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले भने, “दलहरू विभाजित हुनु राम्रो होइन । तपाईंहरू मिल्नुस्, वार्ता गर्नुस् । झनै सत्तारुढ दलहरू विभाजित हुनु त राम्रो होइन ।”

दिउँसो यादवले संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने सांसदहरूले बताएका छन् । अहिले यादव पक्षमा ५ सांसद मात्रै छन् ।