images
images
images

‘नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा मात्रै हो’

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली नोटमा नयाँ नक्सा राख्ने सरकारको निर्णय दुई देशबीच विवाद चर्काउने कुरा भएको प्रतिक्रिया दिएका छन्। नेपाली १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने मन्त्रिपरिषद्को निर्णयमा टिप्पणी गर्दै उनले सीमा विवाद यसरी हल नहुने दाबी गरे।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले नेपाल र भारतबीचको सीमा विवाद समष्टिगत रूपमा समाधान गर्न आवश्यक रहेको बताए। उनले ईपीजी वा नयाँ किसिमको संयन्त्रबाट मात्रै सीमा विवाद हल गरेर जान सकिने तर्क गरे।

‘नेपालको सीमा विवाद जुन छ, यसको हल हुनुपर्छ, तर समष्टिगत ढंगले। अंश-अंश गरेर यो हल हुँदैन’, उनले भने, ‘अनावश्यक ढंगको बहस र विवाद चर्काउने कुरा मात्रै हुन्छ। यसको हल भनेको ईपीजी वा नयाँ किसिमको अर्को मेकानिजममार्फत सीमा, खुला सम्बन्ध, पारवहन सम्झौता, आर्थिक सम्बन्ध, वाणिज्य सम्बन्धलाई समष्टिगत ढंगले नै हल गर्नुपर्छ।’

सीमा समस्या कि त युद्ध लडेर कि कुटनीतिक तरिकाबाट हल हुने भन्दै उनले तीतो पोखेर मात्रै समाधान नहुने धारणा राखे। ‘सीमा समस्या की त युद्ध लडेर हुन्छ, कि त कुटनीतिक तरिकाबाट हल हुन्छ’, उनले भने, ‘खाली तीतो मात्रै पोखेर र मुखमात्रै बजारेर यस्ता समस्या कहिल्यै पनि हल हुँदैनन्।’

भट्टराईले खुला सिमानाका कारण नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागिरहेको बताए। ‘भारतसँगको खुला सिमानाले गर्दा हाम्रो अर्थतन्त्रको आधा हिस्सा चुहिएर गएको र उद्योगधन्दाको विकासमा असर परेको छ । आगामी दिनमा यो क्षेत्रमा जुन सामरिक स्वार्थ टकराउँछ’, उनले भने, ‘भारत-चीन र अमेरिकाको टकराव त देखि नै हालियो।’