images
images

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा, २६ करोड बढी रकम पाउने बाटो खुल्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले माउन्टेन इनर्जी नेपालविरुद्ध उच्च अदालत पाटनमा हालेको मुद्दा माउन्टेन इनर्जीले जितेको छ ।

मध्यस्थकर्ताले माउन्टेन इनर्जीको पक्षमा गरेको निर्णय बदर गरी पाउँ भन्दै विद्युत् प्राधिकरणले २०८० मङ्सिर २० गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । सो मुद्दा आइतबार उच्च अदालतका न्यायधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलाशले खारेज गरेसँगै माउन्टेन इन्र्जीको जित भएको हो ।

आफूले दायर गरेको मुद्दामाथि विद्युत् प्राधिकरणको दाबी नपुग्ने भन्दै प्राधिकरणको रिट खारेज गरिएको बताइएको छ । मुद्दा जितेसँगै कम्पनीले नेपाल विद्युत् प्राधिकरणबाट करिब आयोजनाको ‘सीओडी’ भएदेखि मध्यस्थता परिषदमा मुद्दा पेश हुँदासम्मको २६ करोड ४१ लाख रूपैयाँ र त्यसपश्चात हालसम्म कट्टा गर्दै आएको रकम तथा त्यसमा लाग्ने ब्याज रकम समेत पाउने बाटो खुलेको कम्पनीले जनाएको छ ।

के थियो विवाद ?

प्राधिकरण र कम्पनीबीच पहिलो विवाद विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) मा रहेको विद्युत् खरिद बिक्री दरको विषयमा थियो । कम्पनी र प्राधिकरणबीच २०६७ माग २० गते पीपीए भएको थियो, जुन २०७३ वैशाख १५ गते संशोधन भएको थियो । पीपीए अनुसार कम्पनीले २०७६ भदौ १५ गतेबाट मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत् उत्पादन गरिसक्नु पर्ने थियो । तर प्राधिकरणले समय मै प्रसारण लाइन र सबस्टेसन निर्माण गर्न नसकेकोले तोकिएको समयमा विद्युत् उत्पादन हुन सकेन । त्यसपछि व्यापारिक उत्पादन सुरु गरेको मिति २०७८ असार ३ गते कायम गरिएको थियो । कम्पनीले हाल चौथो वर्षको विद्युत् खरिद बिक्री दर अनुसारको रकम विद्युत् प्राधिकरणबाट माग गरिरहेको थियो । तर प्राधिकरणले भने पहिलो वर्षको पीपीए दरले मात्र पैसा भुक्तानी गर्दै आएको छ ।

साथै प्राधिकरण र कम्पनीबीच भएको दोस्रो विवाद विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) धारा ३८.१८ अनुसार नेपाल विद्युत् प्राधिकरण द्वारा संचालित तातो पानी साना जलविद्युत् आयोजना (२ मे.वा) मा यस आयोजनाको कारणले विद्युत् उत्पादनमा भएको ह्रास वरावरको रकम मात्र कट्टा गर्नु पर्नेमा जडित क्षमता वरावरकै रकम काट्टा गर्दै आएको छ ।

चौथो वर्षको पीपीए दर अनुसार पैसा पाउनु पर्ने तथा तातो पानी साना जलविद्युत् केन्द्रको वास्तविक ह्रास अनुसार कट्टा गर्नु पर्ने भन्दै कम्पनीले मध्यस्थकर्ता समक्ष मुद्दा हालेको थियो । मध्यस्थकर्ताले सर्वसम्मत रूपमा कम्पनी कै पक्षमा फैसला गरेको थियो । सो विरुद्ध प्राधिकरणले मध्यस्थकर्ताको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट हालेको थियो । सोही रिटमा दाबी नपुग्ने फैसला भएपछि कम्पनीले मुद्दा जितेको हो ।