images

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने सरकारको तयारी

काठमाडौँ : सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया शुरु गरेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ।

केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन्।

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उनले बताए।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नासाथ विद्युतीय चुरोट नेपालमा प्रतिबन्धित हुने बताए।

उनले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने बताए। उनले सुर्ती सेवनको गेटवेका रुपमा विद्युतीय चुरोट रहेकोसमेत बताए।

“विद्युतीय चुरोट सेवनले चुरोट खान सिकाउँछ। यसले निकोटिनको लत बसाउने काम गर्छ”, उनले भने, “त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेटवेका रुपमा रहेको छ।”

विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सीधै असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उनको भनाइ छ।

नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेवरमा आउने गरेको छ। ब्लाकबेरी, ब्लुबेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा आउने गरेको छ।

भन्सार विभागको तथ्याङ्कमा गत आवमा वार्षिक ३२ लाख २३ हजार ६८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल आएको उनले बताए।

तीमध्ये ३१ लाख ७५ हजार ८१५ थान विद्युतीय चुरोट चीनबाट मात्र ल्याइएका हुन्। अमेरिकाबाट २ लाख ६५ हजार ६४०, संयुक्त अरब इमिरेट्सबाट १२ हजार ९६७ थान ल्याइएका थिए। भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट ल्याइने गरेको छ।

केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीका अनुसार देशमा वार्षिक ३२ अर्ब रुपैयाँ बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ।

उनले नेपालमा ५ वर्षमा २ सय गुणाले विद्युतीय चुरोटको आयात बढेको बताए। एउटा विद्युतीय चुरोट १० हजार रुपैयाँदेखि १३ हजार रुपैयाँसम्म पर्छ।