images
images

जेठ ११ गते प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुख खापुङलाई सरकारको सिफारिस

विराटनगर- कोशी प्रदेश सरकारले जेठ ११ गतेका लागि प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुख परशुराम खापुङलाई सिफारिस गरेको छ।

बुधबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पन्न मन्त्रीपरिषद् बैठकपछि जानकारी दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले प्रदेश प्रमुखलाई प्रदेशसभा बैठकका लागि पुनःस्मरण गराउने भएको जानकारी दिए।

‘प्रि-बजेट छलफलका लागि चैत्र २६ गतेको मन्त्रीपरिषद् बैठकबाट प्रदेश प्रमुखलाई संसद आह्वान गराएको थियो। सोही अनुरुप आजपनि मन्त्रीपरिषद् बैठकले जेठ ११ गते सभा सञ्चालनका लागि अनुरोध गर्ने भएको हो।’

यससंगै, बुधबार बिहान एक होटलमा गठबन्धन दलतर्फबाट नेकपा एमाले र नेकपा माओवादीका प्रदेशका उच्च नेताहरूको छलफल थियो।

मुख्यमन्त्रीका दाबेदार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की, प्रमुख सचेतक रेवतीरमण भण्डारी, लीलाबल्लभ अधिकारी, नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङग्बो, जीवन आचार्य लगायत छलफलमा थिए।

छलफलपछि उनीहरू प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि परामर्श गर्न पुगेका थिए।