images
images

पार्टी विभाजनविरुद्ध हामी अदालत जान्छाैं: उपेन्द्र यादव

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन्।

पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताए।

पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोपसमेत लगाए।

पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरूले अदालतमा गएर चुनौति दिने अध्यक्ष यादवको भनाइ थियो।

उनले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताए।

अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए।

उनले अर्को सरकार बनाउने प्रयास आफूहरूले नगरेको दावीसमेत गरेका थिए।

उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजन भएको थियो।

जसपा नेपालबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी (जसपा) गठन गरेका छन्। आयोगले राई नेतृत्वको जसपालाई सोमबार दल दर्ता गर्दै प्रमाणपत्र दिएको थियो।

राई नेतृत्वको जसपामा ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य सामेल रहेका छन्।