images
images

चिरञ्जिवी नेपाललाई राष्ट्रपतिको सल्लाहकारबाट बर्खास्त गर्न माग

काठमाडौँ- सयको नयाँ नोटमा चुच्चे नक्साको तस्बिर राख्ने विषयको विरोध गरी गलत काम गरेको भन्दै चार नागरिक अगुवाहरूले राष्ट्रपतिका सल्लाहकार चिरञ्जिवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन्।

पूर्वराजदूत निलाम्बर आचार्य, पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय, मानवअधिकार आयोगका पूर्वआयुक्त सुशील प्याकुरेल र सञ्चारकर्मी कनकमणि दीक्षितको नाममा जारी संयुक्त वक्तव्यमा यो माग गरिएको हो। यद्यपि वक्तव्यमा सञ्चारकर्मी दीक्षितको मात्र हस्ताक्षर छ।

संविधानमा समावेश नक्सा नोटमा राख्ने निर्णयलाई अविवेकी भनी नेपालले गरेको टिप्पणीप्रति ती अगुवाहरूले आपत्ति प्रकट गरेका हुन्।

नेपालले देशसञ्चारसँग सरकारको निर्णय अनुपयुक्त समयमा आएको उल्लेख गर्दै विवादित भूमिबारे अन्तर्राष्ट्रिय मान्यताविपरीत नोटमा नक्सा छाप्नु अविवेकी निर्णय भएको उल्लेख गरेका थिए। त्यस्तै, उनले बिबिसीमा पनि सरकारी निर्णयलाई ‘लहड’को संज्ञा दिएका थिए।

अगुवाहरूले राष्ट्रपतिका सल्लाहकारबाट आएको धारणालाई राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको बुझ्न बाध्य भएको जिकिर पनि गरेका छन्।