images
images

मिलेर सरकार बनाउने विषयमा एमालेसँग ठोस छलफल भएको छैन : प्रमुख सचेतक लेखक

काठमाडौँ – प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग मिलेर सरकार बनाउने विषयमा ठोस संवाद नभएको दाबी गरेका छन्।

देशको आवश्यकता दुई ठूला दल मिलेर जानुपर्ने खालेको भए पनि एमालेसँग ठोस रुपमा संवादन नभएको उनले बताएका हुन्।

बुधबार संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुराकानी गर्दै लेखकले भने, ‘एमालेसँग मिलेर सरकार बनाउने विषय ठोस छलफल भएको छैन। औपचारिक अनौपचारिक छलफल भएको छैन। आम धारणा भने कांग्रेस र एमाले मिलेर जानुपर्छ भन्ने धारणा देखिन्छ।’

उनले संविधान जारी भएको आठ वर्ष पुगेको अवस्थामा यसको कार्यान्वनय र संविधानले नै पुनरावलोकन गर्न भनेका केही विषयमा समान धारणा बनाउनका लागि दुई ठूला दल मिल्नुपर्ने आवश्यकता रहेको आशय भने व्यक्त गरे।

‘देशका ठूला दल मिलेर मुलभुत विषयमा समान धारणा बनाएर जानुपर्छ। संविधान जारी भएको ८ वर्ष भो। यसका केही विषयमा बसेर छलफल हुनुपर्छ। जस्तै संवैधानिक आयोगहरुमाथि हामीले दश वर्षमा रिभ्यु गर्ने भनेका छौँ।’

सचेतक लेखकले सहकारीको समस्या समाधानका लागि दुईवटा कार्यादेश दिएर संसदीय समिति बनाउन सकिने धारणा राखे। सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै आएको कांग्रेसको मागप्रति सत्ता पक्ष तयार भएको छैन। व्यक्तिमाथि छानबिन गर्न समिति बनाउन नसकिने सत्ता पक्षको भनाइ छ। त्यसमा नेता लेखकले एटैउ समितिलाई दुईवटा कार्यादेश दिएर समिति बनाउन सकिने उल्लेख गरे।

समग्र सहकारी समस्या समाधान र गृहमन्त्रीमाथि छानबिन गर्न दुईवटा टिओर दिन सकिने उनको भनाइ छ। लेखकले भने, ‘छानबिन समितिलाई दुईवटा टिओर दिन सकिन्छ। गृहमन्त्री व्यक्ति मात्रै होइन, संस्था पनि हो। यति गम्भीर आरोप लागेपछि छानबिन हुनुपर्छ।’

शुक्रबारदेखि सुरु हुने संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बिहीबार बैठक बसेर निर्णय लिने उनले बताए। अघिल्लो अधिवेशनमा कांग्रेसले विरोध गर्दा गर्दै सरकारले अधिवेशन अन्त्य गरेको थियो। ‘संसदमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न हामीले भोलि संसदीय दलको बैठक बोलाएका छौँ। त्यहाँ विस्तृत छलफल हुन्छ, लेखकले अगाडि भने, ‘निर्णयका आधारमा हामी अघि बढ्छौँ।’