images
images

स्वदेशमै रोजगारी सिर्जना गर्न घरेलु तथा साना उद्योग आवश्यक : श्रममन्त्री अर्याल

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मुलुकभित्रै रोजगारी सिर्जनाका लागि लघु, घरेलु तथा साना उद्योग स्थापना आजको आवश्यकता भएको बताएका छन्।

बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको नेपाल १७ औं अन्ताराष्ट्रिय औद्यौगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले हरेक दिन विमानस्थलका विदेश पलायन भइरहेका फोटा सामाजिक सञ्जालमा देख्ने अवस्था अन्त्यका लागि मुलुकभित्रै रोजगारी सिर्जना आवश्यक रहेको बताए।

उनले सरकारले अब हरेक कार्यक्रम त्यही नीतिअनुरूप गर्ने तयारी रहेको बताए। उनले विदेशबाट फर्कने नेपाली नागरिकलाई मुलुकभित्रै स्वरोजगार बनाउन सीपमूलक क्षेत्रमा काम गर्न नसकिएको स्वीकार गरे। उनले सबै प्रदेश र स्थानीय सरकारसँग मिलेर श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गर्ने तयारी गरेको बताए। उनले सरकारको अबको प्रयास देशमा नै रोजगारी सिर्जना गर्ने रहेको बताए।

उनले भने, ‘मुलुकभित्रै रोजगारी सिर्जनाका लागि लघु घरेलु तथा साना उद्योग स्थापना गर्नु अहिलेको आवश्यकता हो। हामीले हरेक दिन विमानस्थलका फोटा सामाजिक सञ्जालमा देख्ने गरेका छौं। तर विदेशमा गएर फर्कने नेपाली नागरिकलाई मुलुकभित्रै स्वरोजगार बनाउन सीपमूलक क्षेत्रमा काम गरेको देखिएन। श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजगार मेला आयोजना गर्ने तयारी गरेका छौँ।’

उनले सरकारले सिटिइभिटी र सीप विकास प्रशिक्षणमार्फत श्रमिकहरूलाई सीप सिकाउने प्रयास गरेको बताए। उनले नेपाली उत्पादनलाई सरकारी निकायमा प्रयोगमा ल्याउने विषयमा नीतिगत रूपमा व्यवस्था गरिने बताए।