images
images

बैतडी अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

बैतडी-जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । आफूहरुले काम गरेको अतिरिक्त भत्ता नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले बुधबार विज्ञप्ति जारी गर्दै अतिरिक्त समय र सार्वजनिक बिदाको दिन गरेको कामको अतिरिक्त भत्ता नपाएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएका हुन् ।

चालु आर्थिक बर्षमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अतिरिक्त भत्ता, जोखिम भत्ता लगायतका सुविधाहरु नपाएको र बेलाबेलामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको अस्पतालमा कार्यरत डा सुरज नेपालीले बताए ।

अतिरिक्त भत्ता र जोखिम भत्ताका बिषयमा सबै निकाय र सामाजिक विकास मन्त्रालयको समेत ध्यानाकर्षण गराइसकेको तर कुनै सुनुवाई नभएको अस्पतालको प्रयोगशाला विभागका प्रमुख चन्द्रसिंह डोबालले बताए । आफूहरुलाई बेलाबेलामा झुटो अश्वासनमात्रै दिने गरेको तर समस्याको समाधान नभएपछि आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गर्ने अवस्थामा पुगेको उनले बताए ।

प्रयोगशाला विभागमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने जोखिम भत्ता नपाइएको उनले बताए । आफूहरुका समस्याका बिषयमा ठोस पहल र निर्णय नभए आइतबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने डा नेपालीले बताए । ९ जना डाक्टरसहित अन्य विभागमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले समेत अहिलेसम्म अतिरिक्त भत्ता र जोखिम भत्ता नआएको उनको भनाइ छ ।