images

त्रिविमा संघीयताअनुरूप पुनःसंरचनाको गृहकार्य

काठमाडौं- त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ। विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्रा डा. केशरजंग बरालको सोचपत्रबमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो।

विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाइ परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ।

त्रिविका रजिष्ट्रार प्रा डा. केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्त्वपूर्ण शैक्षिक गन्तव्यको रूपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दाे समाधानका लागि पहल थालिएको बताए।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरूपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्रा डा. लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए।

विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्रा डा. बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्रा डा. खड्ग केसी र रजिष्ट्रारमा डा. रिजाल नियुक्त भएका हुन्।