images
images

जसपा तीन टुक्रा, माखिम र लावतीले पहिचानवादी मोर्चा घोषणा गर्दै

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल तीन टुक्रा भएको छ । पटक पटक फुटेको जसपा फुटेको एक सात बित्न नपाउँदै पुनः फुटको शिकार हुन लागेको हो ।

जसपा सङ्घीय परिषद् अध्यक्ष अशोक राईले जनता समाजवादी पार्टी गठन गरिसकेका छन्, उनको दललाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेको छ ।  राईले जनता समाजवादी पार्टी, नेपालबाट जनता समाजवादी पार्टी गठन गर्दा कुनै पनि पक्षमा नलागी तटस्थ नेताले पहिचानवादी मोर्चा बनाउँन लागेका हुन् ।

पूर्वलिम्बुवान् नेता खगेन्द्र माखिम र डा. महेन्द्र लावती समूहले पहिचानवादी मोर्चा घोषणा गर्दैछन् ।  यसअघि माखिमले सङ्घीय लिम्बुवान् राज्य परिषद्लाई जसपासँग एकता गराएका थिए । तर, जसपा नै सग्लो नरहेपछि पहिचानवादी मोर्चा बनाउने भएका हुन् । जसको घोषणा बिहीबार काठमाडौंमा हुँदैछ ।

प्राध्यापक डा. महेन्द्र लावती पनि सोही मोर्चामा सक्रिय रहनेछन् । “हामीले तीन दिनसम्म बृहत् छलफल गरेर निष्कर्ष निकालेका हौँ । हामी उपेन्द्रजी वा अशोकजीसँग छैनौँ । हामी मोर्चामा हुनेछौँ,” लावतीले भने ।

गत वैशाख १५ को उपनिर्वाचनमा यो समूहले पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई समर्थन गरेको थियो ।