images
images

तेस्रोपटक कोशीका मुख्यमन्त्री बने हिक्मत कार्की,एमाले र माओवादीबाट एक/एक मन्त्रीले लिए शपथ

मोरङ– कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की तेस्रोपटक नियुक्त भएका छन्।  नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता रहेका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बिहान मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले दिउँसो नै मुख्यमन्त्री नियुक्त गरेका हुन्।

बिहीबार बेलुका विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा नवनियुक्त मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुंगले शपथग्रहण गराएका हुन्।

प्रदेश प्रमुख खापुंगले संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यससँगै गठबन्धनतर्फ नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले पनि बिनाविभागीय मन्त्रीको सपथ ग्रहण गरेका छन्।

एमाले संसदीय दलका उपनेता राना इलाम क्षेत्र नम्बर २ को २ बाट निर्वाचन हुदै प्रदेश सभा सदस्य भएका हुन्। त्यसैगरि, माओवादीका उप्रेती मोरंग क्षेत्र नम्बर २ को १ बाट निर्वाचित भएका हुन्। दुवै जना यसअघि केदार कार्की नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारीमा रहिसकेका हुन्।

बुधबार राति अबेर प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्दै शुक्रबार बेलुका ५ बजेसम्मका समय दिएका थिए। सोही क्रममा गठबन्धन दलतर्फबाट कार्की बिहीबार बिहान एमाले र माओवादीका ५२ जना प्रदेश सांसदसहितको हस्ताक्षर लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको लागि दाबीमा उपस्थित भएका थिए। यससँगै कार्कीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ९३ जना प्रदेश सांसद रहेको कोशीमा सरकार गठनका लागि ४७ जना सांसद आवश्यक हुन्छ।