images
images

आजदेखि संघीय संसद्को बजेट अधिवेशन, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँः संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे अधिवेशनको पहिलो बैठक सुरु हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आजदेखि सुरु हुनेछन्।

एक महिनाको अन्तरालपछि संसद्को दोस्रो अधिवेशन सुरु हुन लागेको हो। सचिवालयले अधिवेशन आह्वानको सम्पूर्ण तयारी पूरा गरेको छ। राजनीतिक दलसँगको परामर्शमा बजेट पारितसम्मका सम्भावित कार्यसूची सचिवालयले तयार पारेको छ।

यस्ता छन् कार्यसूची

अधिवेशनको पहिलो बैठकमा दुबै सदनमा राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाइने छ। अधिवेशन आह्वानको पत्र सुनाएपछि सहिदको सम्झनामा मौनधारण हुनेछ।

औपचारिक बैठकमा सरकारले यसअघि अधिवेशन नहुँदा जारी गरेका चार अध्यादेश पेस हुनेछन्। प्रतिनिधिसभामा संघीय संसद्का महासचिव, सविचको नियुक्ति तथा पारिश्रमिक सम्बन्धी अध्यादेश पेस हुनेछ। यस्तै, बेपत्ता पारिएको व्यक्तिको खोजविन, सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थपसम्बन्धी अध्यादेश पनि पेस हुनेछ। चिकित्सा शिक्षा अध्यादेश पनि आजकै बैठकमा पेस हुनेछ।

यस्तै, राष्ट्रियसभा सदस्य निर्वाचन भने राष्ट्रियसभामा पेस हुनेछ। पेस भएका अध्यादेश दुबै सदनले अनुमोदन गर्नु पर्नेछ।

नियमावली मस्यौदा पेस हुने

यस्तै बैठकमा दुबै सदनमा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस हुनेछ। प्रतिनिधिसभामा सभापति कृष्णभक्त पोखरेल तथा राष्ट्रियसभामा सभापति पर्शुराम मेघी गुरुङले मस्यौदाको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदन छलफलपछि सोमबारको बैठकले पारित गर्ने तयारी छ।

विवादित विषयमा सहमति गर्दै शनिबारको बैठकले दुबै सदनको नियमावली पारित गरेको थियो। फौजदारी अभियोगमा जेल परे पनि कुनै पनि तहको अदालतले अन्तिम फैसला नसुनाएसम्म सांसद् निलम्बन नहुने व्यवस्था गरी नियमावली पारित भएको छ। यसअघि पक्राउ परेपछि वा पुर्पक्षका लागि थुनामा पठाएपछि सभामुखको आदेशले सदस्य निलम्बनको व्यवस्था थियो।