images
images

संसद प्रभावित भए त्यसको जिम्मा सरकारले लिनुपर्छ-प्रतिपक्ष कांग्रेस

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री एवं सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई शुक्रबारको संसदमा संसदीय दलको नेताको हैसियतमा मात्रै बोल्न दिने बताएको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा यस्तो निर्णय गरेको हो। कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिइसकेपछि बैठक अवरुद्ध गर्ने तयारी गरेको एक नेताले जनाएका छन्।

दलीय प्रतिनिधित्वको आधारमा सभामुखले बोल्न दिएपछि नेपाली कांग्रेसको तर्फबाट रामहरि खतिवडाले बोल्ने तय भएको कांग्रेसले जनाएको छ। उनले सहकारी छानबिन समितिको माग गर्ने र गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने धारणा राख्ने तयारी छ।

कांग्रेसको तर्फबाट महामन्त्रीसमेत रहेका गगन थापाले पनि धारणा राख्ने कांग्रेसले जनाएको छ। सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका रविमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग कांग्रेसले राख्दै आएको छ।

शुक्रबारको संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बनाउन सरकार सकारात्मक नभए सदनको बैठक प्रभावित हुने प्रतिक्रिया दिए। संसद प्रभावित भए त्यसको जिम्मा सरकारले लिनुपर्ने तर्क राखेका छन्।