images
images

नेपाल चेम्बरको टोली केपी ओलीलाई भेट्न बालकोट पुग्यो, के–के भयो छलफल ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवम् चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा चेम्बरका पदाधिकारी टोलीले भक्तपुरको बालकोटस्थित ओलीको निवासमै पुगेर भेटवार्ता गरेको हो ।

भेटमा चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई जानकारी गराउनाका साथै शिथिलताबाट गुज्रिरहेको अर्थतन्त्रलाई सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गरी सुधार्नुपर्ने सुझाव दिएको छ । सो अवसरमा अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको जानकारी गराए ।

शिथिल अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवम् निजी क्षेत्रको मनोवल उकास्नुपर्ने बेला आएको अध्यक्ष अग्रवालले बताए । ‘विगतमा लिएका सङ्कुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, शेयर बजारको सङ्कुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ,’ अध्यक्ष अग्रवालले भने, ‘सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ ।’

यस्तै, आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरू स्पष्ट नहुँदा अन्तशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्वहरू देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले अध्यक्ष ओलीको ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष अग्रवालले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अबिलम्व पहल गर्न पनि अध्यक्ष ओलीसमक्ष आग्रह गरे ।

भेटवार्तापछि चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरू पीडित भएका छन । सहकारी क्षेत्रको समस्या अबिलम्व समाधान हुनुपर्दछ, ।’ विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरूलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, करका कारण विवादित मुद्दाहरूको यथाशीघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरको छ ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरी ठानेर सरकारले नीति तथा कार्यक्र ल्याउने प्रतिबद्धता व्यक्त गरे । निजी क्षेत्रको समस्या समाधानका लागि आफूले पहल गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।