images
images

कांग्रेसको सनकको भरमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बन्दैनः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको सनकको भरमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति नबन्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयलाई लिएर कांग्रेसले छुद्र खेल खेलेको बताउँदै कुनै दोषी नभएका व्यक्तिलाई सनकको भरमा  छानबिन हुन नसक्ने बताए । उनले भने, ‘कतिपय प्रश्न कांग्रेसले के गर्नुपर्छ हेर्नुपर्नेछ । अघिल्लो अधिवेशनमा रन्थनिएर के गर्ने के नगर्ने रु प्रधानमन्त्री भइदेउ भनेर सबैतिर पुगेको छ, नेपाली कांग्रेसका प्रमुख सचेतक मुद्दाको फाइल लिएर बहस गर्न जस्तो गरेर आउनुभएको छ । महान्याधिवक्ताको कार्यालय भन्दैछ केही पनि छैन । उहाँहरु विभिन्न पृष्ठको कुरा ल्याउनुहुन्छ । उहाँको नाममा नजाऔं, सहकारीको अवस्थामा जाऔं भन्दा मान्नुहुन्न । उहाँहरुले रविजीको राजीनामा माग्या छैन भन्नुहुन्छ, आफ्नैबारेमा छानबिन गर्न समिति बनाइसकेपछि उपप्रधान तथा गृहमन्त्री पदमा बस्न मिल्छ ? भनेर छानबिन समिति बनेपछि राजीनामाको कुरा गर्नुहुन्छ ।’

उनले समीकरण भत्काउन प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि कांग्रेस छुद्र खेलमा लागेको टिप्पणी गरे ।

उनले बजेटमाथिको छलफलमा प्रभावकारी ढंगले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिएका छन् । उनले भने, ‘हामीले बोल्दा अध्ययन गरेर प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ । लामा होइन, संक्षिप्त गर्नुपर्छ । सामाजिक सद्भाव र राष्ट्रिय एकता हाम्रो आदर्श हो । राष्ट्रिय एकताविरुद्धको कुनै गतिविधि स्वीकार्य छैन । नेपालको हितविपरीतको कुरालाई मान्दैनौं । हाम्रो आदर्श त्यो हो ।’