images
images

गगनलाई रविको चुनौती : ऋण लिएको प्रमाण देखाए राजनीति छाडिदिन्छु, नसके तपाईंले छाड्नुपर्छ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले निवेदन हालेर सहकारीबाट ऋण लिएको भन्ने आरोप पुष्टि गर्न नेपाली कांग्रेसका सांसद गगन थापालाई चुनौती दिएका छन्।

संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन्।

‘माननीय गगन थापाले गृहमन्त्रीले निवेदन हालेर ऋण मागेको प्रमाण छ भन्नुभएको छ। उहाँले त्यो प्रमाण दिनुभएछ भने म राजनीति छोडिदिन्छु’, लामिछानेले भने, ‘त्यो प्रमाण दिन सक्नु भएन भने उहाँले राजनीति छाड्नुपर्छ। समितिको त के कुरा भयो र बनाए हुन्छ। नेपाली जनताको अदालतमा उभिएर दुई जनाको राजनीतिलाई दाउमा लगाउँ।’

उनले एकपटक पनि आफूलाई बोल्न नदिएको भन्दै असन्तुष्टि जनाए। संसदीय छानबिन समितिबाट किन डराएको भन्ने कांग्रेसलाई उनले जवाफ दिँदै भने, ‘मलाई एक पटक बोल्न दिन किन डराएको?’

प्रतिनिधिसभाको शुक्रबारै बसेको पहिलो बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले लामिछानेले निवेदन हालेर ऋण लिएको प्रमाण आफूसँग रहेको जिकिर गरेका थिए।