काठमाडौं- उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्।
शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरू बेलामा विकास निर्माणमा लाग्नुपर्ने बताए।
उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनताका राजनीति गरेर अन्य सबै समयमा देश विकासमा लाग्न सबै राजनीतिक दल र नेताहरूलाई आग्रह गरे।
उनले दलका नेताहरुले राजनीतिक कुरा र पार्टीका कुरा मात्रै गर्ने नभइ दलको स्वार्थ भन्दा माथि उठेर सोच्न आवश्यक रहेको बताए।
उपप्रधान महासेठले दल भन्दा माथि उठेर नसोचेसम्म देश अघि बढाउन नसकिने जिकिर गरे।
उनले भने, ‘पार्टीका नेताहरूले पार्टीका कुरामात्रै गर्ने होइन। हामीले पार्टीको स्वार्थभन्दा माथि उठेर जब सोंच्दैनौं, देश अघि बढाउन सक्दैनौं। हामीले विद्वान साथीहरूसँग कुरा बुझेर, सोधेर अघि बढ्नुपर्छ। दोस्रो पटक म पनि भौतिक मन्त्रालयमा आएको छु। कामको गति बढाउँदैछौं। विश्वास छ यस वर्ष यस सरकारले भौतिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त गर्नेछ।’
उपप्रधान महासेठले देश विकासका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने बताए।
नेपालमा विगतको भन्दा वर्तमानमा धेरै प्रगति भएको उनकाे दाबी छ। साथै उनले राजाको पालामा धेरै विकास हुने र बहुदल आइसकेपछि विकास नभएको भन्नेकुरा सत्य नरहेको पनि बताए।