images
images
images

‘क्यानभास’मा ‘धार्चे’को कलासंस्कृति र भूगोल

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गोरखाको धार्चे गाउँपालिका आयोजनामा आइतबारबाट सुरु भएको ‘धार्चे चित्रकला कार्यशाला’ बुधबार सम्पन्न भएको छ ।

कार्यशालामा सहभागी २० जना कलाकारले आफ्ना कलाकृतिमा पालिकाको लोकपरम्परा, परिवेश, प्रकृति, जीवनशैली, रीतिरिवाज, भूगोल, वास्तुकला र जीवनशैली तथा मुहार चित्र आदि विषयवस्तुलाई क्यानभासमा उतारेका छन् ।

कार्यशालामा सिर्जना गरिएका ४० कलाकृति एक समारोहकाबीच प्रतिष्ठानका लोककला विभाग प्रमुख प्रदिप अधिकारीले गाउँपालिकालाई हस्तान्तरण गरे । सो अवसरमा उहाँले पालिकाको सम्पदालाई जीवन्त राख्न कलाकारले आफ्नो स्थानबाट योगदान दिएको र अब यी कलाबाटै गाउँको प्रचार–प्रसार गर्न पालिकालाई सहज हुने धारणा राखे ।

अधिकारीले कलाकृतिलाई पर्यटनसँग जोडेर सङ्ग्र्रहालयको अवधारण तयार गर्न पनि पालिकालाई सुझाव दिए । कलाकार दिपेन्द्रमान बनेपालीले धार्चे गाउँपालिकामा भरपुर पर्यटकीय सम्भावना रहेको आँैल्याए ।

उनले आगामी दिनमा कला, संस्कृति र साहित्यका कार्यक्रमबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सुझाव दिए । कार्यशालाको समापनमा गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकारले बनाएका कलाकृतिलाई उचित संरक्षण गर्ने र आगामी दिनमा अझ बृहत् कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताइन् ।

उनले यस कार्यक्रमका लागि सहकार्य तथा समन्वय गरेकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यशालामा प्राज्ञ प्रदिप अधिकारी, मन गुरुङ, केशव राज खनाल, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, दिपेन्द्रमान बनेपाली, डिबी राई, लीलाधर केसी, विके नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ, सारा तुनिच् कोइच्, (दुर्गा सुनुवार), कोपिला राई, विकास गुरुङलगायत कलाकारले सहभागिता जनाएका थिए ।