संसद अवरोध अन्त्य गर्न प्रधानमन्त्री दाहाल र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरूसँग छलफल गरिरहेका छ्न्।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक र कृष्णप्रसाद सिटौलाबीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

सदनमा देखिएको अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रमलगायतका विषयमा कुराकानी भइरहेको छ।

समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा संघीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकोसमेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आइरहेकाे छ।

संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान कांग्रेसकाे छ।

आगामी जेठ १ गते मंगलबार दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ।