गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस

काठमाडौं -प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेताहरूबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाएर गर्न सकारात्मक भएका हुन्।

छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताए।

उनले भने,’हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौं। संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीज्युसँग यो बारेमा कुराकानी भयो। हामीले आफ्ना कुरा राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ। सकारात्मक कुरा नै छ। हामीले हाम्रो कुरालाई यथावत राखेका छौं। प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ। भोलि हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौं।’

प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए।