जिबी राईलाई प्रधानमन्त्रीले भगायो भन्ने बेतुकका कुरा हुन्: प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिबी राईलाई अघिल्लो सरकार र प्रधानमन्त्रीले भगायो भन्नु बेतुकका तर्क रहेको बताएका छन्।

भरतपुर विमानस्थलमा आइतबार अपराह्न पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार चितवनमै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै कुतर्क कसैले पनि गर्न नहुने बताए।

‘वाहियात कुरा हो त्यो, कुतर्क कसैले पनि गर्न हुँदैन। जिबी राईलाई ल्याउनपर्छ भन्ने कुरामा सरकार प्रष्ट छ,’ प्रधानमन्त्री दाहालले भने, ‘त्यो पासपोर्टको इस्युले गर्दा अलिकति समस्या भएको छ। त्यसलाई हल गर्न खोजिँदैछ। अघिल्लो सरकारले, प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्नु बेतुकका कुरा हुन्।’

संकटग्रस्त सहकारीबारे अध्ययन गर्न समिति बनाउन सकिने पनि प्रधानमन्त्री दाहालको भनाइ छ।