पर्वत : वर्षातको समयमा फेवातालको माथिल्लो तटीय क्षेत्रबाट बगेर आउने जलकुम्भी झार नियन्त्रण गर्न पोखरा महानगरपालिकाले काम सुरु गरेको छ।
नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियानसँगको सहकार्यमा पहिलो दिन भकुन्डे क्षेत्रको जलकुम्भी झार निकालिएको हो। आइतबार हजार बढी वातावरण संरक्षणकर्मी अभियान्ताहरु, सुरक्षा निकाय, नगर प्रहरी र स्थानीयहरूको सहभागितामा सो क्षेत्रको झार निकालिएको मुख्य अभियन्ता राम बहादुर पौडेलले बताए।
‘फेवातालको भविष्यप्रति हामी निकै चिन्तित छौँ। फेवातालको नामबाट पर्यटनदेखि पर्यावरण सम्मका कुरा धानिएको अवस्थामा जलकुम्भी र अन्य कुराले ताललाई कुरूप बनाएको अवस्था छ’, उनले भने, ‘यसको संरक्षण शक्ति केन्द्रहरूको प्रभावका कारण थप चुनौतीपूर्ण बन्दै गइरहेको छ। नागरिक समाज फेवाताल संरक्षणका लागि जुनसुकै मूल्य चुकाउन प्रतिबद्ध छ।’
स्वयंसेवी रूपमा सफाइ अभियान सञ्चालन गर्दै आइरहेको महानगरपालिकाले सोमबारदेखि भने स्थानीय जलारी समुदायका ४० जनालाई दैनिक ज्यालादारीमा खटाउने भएको छ। ‘फेवातालमा बगेर आउने जलकुम्भीको नियन्त्रणका लागि नियमित काम गर्ने गरी पहिलो चरणमा ४० जना जलारी समुदायका युवा तथा महिलाहरूलाई काममा खटाइनेछ’, महानगर प्रमुख आचार्यले भनेका छन्, ‘यसपछि यो तालको संरक्षण तथा सौन्दर्यीकरण सहित स्थानीय रोजगारीसँग पनि जोडिने छ।’ माथिल्लो क्षेत्रबाट बगेर आउने जलकुम्भी झारका कारण फेवाताल बर्सातको समयमा कुरूप देखिने भएकाले यस पटक समयमा नै यसको स्रोतमै व्यवस्थापन थालिएको उनको भनाइ छ।
आइतबार नेपाली सेना, सशस्त्र प्रहरी, सफाइ अभियन्ता र स्थानीय समेत गरेर हजार बढीले सफाइ अभियानमा सहभागिता जनाएका थिए। पहिलो दिन १५ टिप्पर जलकुम्भी निकालिएको छ। सशस्त्र प्रहरी गण मालेपाटन कालिका गणका प्रमुख, प्रहरी उपरीक्षक अरुण शर्माले ताल तलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्ने सबैको साझा दायित्व रहेको बताए। सशस्त्र प्रहरीको अभियानमा सधैँ साथ रहने उनले प्रतिबद्धता जनाए।
पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालको संरक्षणका लागि हातेमालो गर्न पर्यटन सम्बद्ध संघसंस्थाहरुलाई आह्वान गरेका छन्। फेवातालको प्रत्यक्ष फाइदा लेकसाइड र आसपासको क्षेत्रलाई भएको उल्लेख गर्दै उनले यसको संरक्षणमा पनि उत्तिकै इमानदार बन्न सबैमा अनुरोध गरे। वडाध्यक्ष भट्टराईले सबै सरोकारवालाहरूको हातेमालोले मात्र संरक्षण र विकास अभियानका उद्देश्यहरू पूरा हुने धारणा राखे।
पोखरा महानगरपालिकाको सहयोगमा ‘एक जलारी घर एक रोजगारी’ कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो। दुई हप्ता बिहान आठ देखि दिउँसो तीन बजेसम्म दैनिक ४० जना जलारीहरू तालको सफाइमा खट्ने छन्। फेवातालमा जस्तै बेगनास ताल र अन्य तालहरूमा पनि यो अभियान क्रमशः चलाइने अभियान्ताहरुले बताएका छन्।