काठमाडौं– जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रिय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए।
उनले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाएका छन्। उनले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको बताए। उनले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको बिरुद्धमा आफूहरु लाग्ने चेतावनी दिए।
उनले भने, ‘राज्य नै लागेर फुटाइयो। सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लाग्नुभयो र पार्टी विभाजनपश्चाद राष्ट्रिय राजनीतिमा जुन घटनाहरु भइरहेका छन्, त्यहाँ नैतिक रुपले बसिरहन मिलेन। हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौं। एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ। तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो। नैतिक रुपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छौं।’
‘१२ को संख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रुपमा पनि बसिरहन उचित लागेन। सरकारले गैरजिम्मेवारी काम ग¥यो त्यसको बिरुद्धमा हामी लाग्नेछौँ। आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ। आन्तरिक किचलो छ, विभाजनले गर्दा’ उनले भने।
सांसद यादवले विभाजित भएर जाने नेताहरुले आफूहरुको आन्दोलनमा घाटा हुने बताए।