images

पशुपति क्षेत्रमा साउनभर ऐतीहासिक कोटिहोम ज्ञान महायज्ञ लगाइने

पशुपति क्षेत्र परिसरमा आउने साउन महिनाभरी कोटिहोम महायज्ञ आयोजना हुने भएको छ। मानव सेवा फाउन्डेसनलगायत झण्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा साउनमा हुने कोटी होम महायज्ञ महिना दिनसम्म चल्नेछ।

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ।

पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्री पशुपति कोटीहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गते समापन हुनेछ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ।

एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउण्डेसनले जनाएको छ।

यसअघि मानवसेवा फाउण्डेसनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पुर्‍याउन छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ।

अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गास , वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ।

सो आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएको विजय कृष्णमूर्ति जी महाराजले जानकारी दिएका छन्।

त्यस्तै बेसाहरा , पीडित , दुखी , गरिबर आधारभूत अवश्यकताबाट बन्चित  करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन्। हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ ।

देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।