काठमाडौं : सत्ता गठबन्धनमा आबद्ध प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको छ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच छलफल भएको हो।
बैठकबाट उपप्रधान एवं गृहमन्त्री समेत रहेका रवि लामिछाने बाहिरिएका छन्। उनले आफ्नो कुरा राखेर निस्किएको प्रतिक्रिया दिए।
‘उहाँहरू छलफलमा हुनुहुन्छ, मैले आफ्नो कुरा राखेर निस्किएको छु’, लामिछानेले भने, ‘मेरो कुरा एउटै मात्र छ ममाथि लगातार आरोप लागेपछि एकपटक मैले संसदमा बोल्न पाउनुपर्छ।’
कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बन्नुपर्ने अडान लिइरहेको छ। भोलि मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।
तर नेपाली कांग्रेसले जेसुकै भए पनि बैठकमा अवरोध जारी राख्ने भन्दै आएको छ। सदनको गतिरोध अन्त्यका लागि पहल गर्न ओली प्रचण्ड छलफलमै छन्।
नेपाली कांग्रेसले आफूमाथि छानबिन समिति गठन गर्न किन डराएको भनेर प्रश्न गरिरहेको भन्दै लामिछानेले ‘मेरो कुरा एकपटक सुन्न, मलाई संसदमा एकपटक बोल्न दिन किन डराएको?’ भन्ने प्रतिप्रश्न गरे।
रविले प्रतिक्रिया दिएको केहीबेरमै बैठकबाट ओली र प्रधानमन्त्री प्रचण्ड पनि निस्किए । तर उनीहरूले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन्