पेट्रोल पम्पमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु, ७४ जना घाइते

मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड सोमबार अपराह्न वर्षा र तुफानसँगै खसेको थियो।

घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जना घाइते भएको समाचार संस्था एएनआइले जनाएको छ। अझै कतिपय त्यहीँ फसेको र मृतकको संख्या बढ्न सक्ने अनुमान छ। ७० बाइ ५० मिटर ठूलो होर्डिङ बोर्ड पेट्रोल पम्पमाथि खसेको थियो। त्यहाँ हुरीबतास र वर्षाका कारण मानिसहरु ओत लागेका थिए।

घाइतेलाई राजावाडी अस्पतालमा भर्ना गरिएको छ । महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाका लागि जिम्मेवार व्यक्तिमाथि कर्तव्य ज्यान मुद्दा चलाइने बताए । उनले मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणासमेत गरेका छन् ।

हावाहुरीका कारण सडक, हवाई र रेलमार्गसमेत प्रभावित भएका छन् ।