images

निर्वाचन भएको दुई वर्षपछि व्यास नगरपालिकामा पुनः मतगणना हुने

पोखरा- स्थानीय निर्वाचनको दुई पर्ष पूरा भएपछि तनहुँको व्यास नगरपालिकाको पुन: मतगणना हुने भएको छ। उच्च अदालत पोखराले पुन:मतगणनाको आदेश दिएको हो।

अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुनः मतगणना गर्न आदेश दिएको हो ।

पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकले २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट दिएका थिए।

जोशी कांग्रेसका वैकुण्ठनाथ न्यौपानेसँग २५२ मत अन्तरले पराजित भएका थिए । कांग्रेसका न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्दा जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । न्यौपाने तत्कालीन कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार थिए भने जोशीलाई एमालेले सघाएको थियो ।

जोशीले केही मतदान केन्द्रमा खसेको भन्दा बढी मत प्राप्त भएको, मत गणना गर्दा गडबडी गरेर धाँधली गरी षड्यन्त्रपूर्वक आफूलाई हराएको दाबी गरेका थिए ।

जोशीले वडा नम्बर १ देखि ८ सम्म जितेको परिणाममा सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको दाबी गरेका छन् ।

यो निर्वाचनको क्रममा दीपकराज व्यास- ८ मा कांग्रेस कार्यकर्ताबाट कुटिएका थिए । ३० जेठ २०७९ मा त्यस्तो घटना भएपछि निर्वाचन आयोगले ४ जेठमा व्यास-८ का दुई मतदान केन्द्रमा पुनः मतदान गराएको थियो ।