images

सन्दीपको पुनरावेदनमा आज फैसलाको सम्भावना

क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पुनरावेदनको फैसला सम्भवत: बुधबार हुने सम्भावना बलियो बनेको छ। पाटन उच्च अदालतमा मंगलबार पेसीमा चढेको मुद्दा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा दिनभर बहस भएको थियो।

मंगलबार दिनभर बहस भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। आज मुद्दामा दुवै पक्षका कानुन व्यवसायीले बहस सकेपछि मुद्दाको फैसला आजै आउने सम्भावना रहेको छ।

सन्दीपपक्षका तीन कानुन व्यवसायीले बहस गर्न बाँकी रहँदा गौशाला २६ का तर्फबाट ४ जना कानुन व्यवसायीले बहस गर्न बाँकी छ। त्यसपछि दुवैतर्फबाट जवाफी बहसपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले इजलासले मुद्दाको फैसला सुनाउने छन्।

सन्दीपलाई बलत्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले गत १३ पुसमा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि उनी गत १० फागुनमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका थिए। त्यस्तै, गत १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगे।

दुवैको मुद्दालाई २३ चैतमा उच्च अदालतका न्यायाधीश नृपधोज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले प्रारम्भिक सुनुवाई गर्दै दुवै पक्षको पनुरावेदन दर्तासँगै मुद्दा औपचारिक रूपमा उच्च अदालतमा प्रवेश दिएका थिए।

त्यसपछि ३ वैशाख न्यायाधिश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्मदर्ता प्राप्त गर्नका लागि दिएको सक्कली निवेदन र जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति माग गरेको थियो। त्यसपछि, अर्को पेशी १० वैशाखमा रहेपनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा पर्‍याे।

तर १६ वैशाखमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दाको सुनुवाई गर्ने समय नपुग्ने भन्दै सुनुवाइ भएन। यद्यपि, उनीहरूले मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिए।

त्यसपछि क्रिकेटर लामिछानेको मुद्दा २३ वैशाखमा पहिलो नम्बरमै भएपनि उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्नेमा राखेको थियो। उनीहरूले मुद्दालाई ‘रेक्युजल’ गरेको भन्दै मुद्दा हेर्न नमिल्नेमा परेको थियो। यद्यपि, मुद्दामा मंगलबारबाट भने ‘फाइनल बहस’ सुरू भएको छ।