images
images

प्रधानमन्त्रीलाई नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार छैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालको भूमि विदेशीलाई बेच्ने अधिकार संविधानमा नभएको बताएका छन् ।  उनले सोमबारको संसद् बैठकमा लिपुलेकको जमिन भारतलाई दिने भनेर दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ समेत माग गरेका छन् ।  एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणले समस्या समाधान नगरेको भन्दै त्यस क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको चर्को आलोचना गरे ।

‘हामीलाई चाहिएको थियो हवाई मार्ग, २०१८ मा हामीले एउटा हस्ताक्षर गरेका थियौँ । त्यसमा नेपालगन्ज जनकपुर, भैरहवाको सम्झौता गरेका थियौ । आज किन भारत पछि हट्दैछ ?’, भट्टराईको प्रश्न छ । साथै उनले नेपाललाई दीर्घकालीन ऊर्जा व्यापारमा सहमति चाहिए पनि पञ्चेश्वर लगायतमा किन ढिला भएको भनेर प्रश्न गरे ।

कालापानी, लिपुलेक लिम्पयाधुरा, कुनै पनि सर्तमा नेपालको संविधानले प्रधानमन्त्रीलाई नेपालको भूमि अरू कुनै विदेशीलाई दिने हक दिएको छैन । उहाँले के आधारमा बङ्गलादेशको बाटोको कुरा गर्नुभयो ? १९९७ मा आइके गुजराल आएका बेला नै त्यो बाटो हामीले पाएका छौँ । यो कुनै नयाँ कुरा होइन । हामी कुनै जग्गा सट्टा भर्ना गर्ने सर्तमा राष्ट्रियता बन्धक राख्न सक्दैनौ । बेच्न सक्दैनौ’, भट्टराईले प्रधानमन्त्रीको जवाफ मागे । उनले नेपाल सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने भन्दै जुनसुकै लम्पसारवाद विरुद्ध एमाले र संसद् उभिने प्रस्ट पारे ।