images

१६औँ योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको छ : उपाध्यक्ष श्रेष्ठ

काठमाडौँ : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६औँ आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन्।

बुधवार आयोगमा पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्। उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६औँ आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दावी गरे।

उनले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जनामा परिणाममुखी काम नभएकाले पनि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताए।

उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको बताए। उनले त्यस्ता आयोजनालाई तीन वर्गमा वर्गीकरण गरिने बताए।

उनले पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उल्लेख गरे। उउनले अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरेर योजना बनेको बताए। उनले विगतमा महत्वकांक्षी योजना बनेको भन्दै अहिले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको दावी गरे।

उनले आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य राखिएको बताए। उनले १६औँ योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७.३ प्रतिशत हुने पनि बताए। उनले आगामी आर्थिक वर्षमा शुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आँकलन गरिएको बताए।