images

लागूऔषध दुर्व्यसनी विरुद्द विद्यालयहरूमा साताव्यापी अभियान

झापा  :  बाहुण्डाँगी जेसीजको आयोजनामा लागु औषध दुर्व्यसनी विरुद्धको सप्‍ताह बुधबारबाट सुरु भएको छ।

‘बाहुण्डाँगी जेसीजको अभियान,लागु औषध रहित समाजको पहिचान’ भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम सुरु भएको हो। मेचीनगर ४ को सरस्वती माविबाट सुरु भएको यो अभियान सात दिनमा साबिक बाहुनडाँगी हालको मेचीनगर १, २ ३ र ४ वडाका १५ वटा निजी तथा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ।

पछिल्लो समय विद्यालय तहबाट लागूऔषध दुव्र्यशनी प्रयोगकर्ता बढ्दै गएको र यसलाई न्यूनीकरण गर्न हरेक विद्यालयमा पुग्ने गरि अभियान सञ्चालन गरिएको हो। सरस्वती मावि, पशुपति मावि, पवित्र मावि, जनता मावि, भानु मावि, मेची जनसाधारण मावि र बलभद्र माविमा सञ्चालन हुने अभियानमा अन्य विद्यालयहरूलाई सहभागी गराइने छ।

अभियानको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए। सरस्वती मावि र विद्या विकास एकेडेमीका ६० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

अभियानमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र बाहुनडाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन्।