images

पार्टी विभाजनको भण्डाफोर गर्न जसपा नेपालको देशभर परिपत्र

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन कार्य धोकापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने बताएको छ।

केन्द्रीय समितिको बैठकपछि बुधबार परिपत्र गर्दै जसपा नेपालले पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद नरहेको अवस्थामा अकस्मात् सत्ता र शक्तिका लागि गरिएको विभाजन धोकापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने अभियान सञ्चालन गर्न भनेको हो।

पार्टीले विभाजन गर्नेहरूको भण्डाफोर गर्न परिपत्र गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनले भने, ‘यो विभाजनले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी जस्ता मुद्दालाई कमजोर बनाउने काम भएको छ। मधेसी, आदिवासी जनजाति, दलित, थारू, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत केन्द्रीय समिति बैठकको निष्कर्ष छ ।’

बस्नेतले कहिल्यै पनि सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरूमा समेत मतभेद नरहेको अवस्थामा अकस्मात् पार्टी विभाजन गर्ने काम धोकापूर्ण रहेकाले यसको भर्त्सना गरौँ भनेर परिपत्र गरिएको बताए ।

पार्टीलाई एकताबद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशन सफल पार्न जारी गरेको निर्देशिका र निर्वाचनसम्बन्धी कार्यतालिका र कार्यक्रमअनुसार निर्धारित समयमै राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गरी पार्टी केन्द्रीय कार्यालयलाई जानकारी गराउन पनि बैठकमा भनिएको थियो।