images

संसद्‌मा एउटा सहकारी ठगलाई कारबाही गर्ने पक्ष र अर्को जोगाउने पक्ष देखियो: महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगलाई कानुनी दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताएका छन्।

महामन्त्री थापाले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संसदीय छानबिन समितिको माग पूरा नभएसम्म सदनको कुनै पनि काम कारबाही अगाडि बढ्न नसक्ने स्पष्ट पारे।

उनले संसदमा सहकारी ठगलाई कारबाही गर्नुपर्छ भन्ने पक्ष र सहकारी ठगलाई जोगाउनुपर्छ भन्ने पक्ष देखिएको बताए।

उनले भने,’संसदमा दुई पक्ष देखियो, सहकारी ठगलाई कारबाही गर्ने पक्ष र जोगाउने पक्ष। सहकारी ठगलाई कानुनी दायरामा ल्याउनुपर्छ।’

उनले सभामुख देवराज घिमिरेको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। सभामुख घिमिरेका कारण सदनमा मुठभेडको अवस्था सिर्जना भएको उनले बताए।

उनले भने,’सभामुखको भूमिकाप्रति हाम्रो असहमति छ। असन्तुष्टि छ। सभामुखले संसदलाई मुठभेडको अवस्थामा पुर्‍याउनु भयो।’