images

कांग्रेस सांसदलाई आफ्नो कार्यकर्ता नठान्न ओलीलाई चेतावनी

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद्‌भित्र अप्रिय स्थिति सिर्जना भएको र त्यसको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले सभामुखका कारण संसद्‌भित्र त्यो स्थिति सिर्जना भएको बताए। उनले सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरूसँग परामर्श गरेर उनीहरूको निर्देशनअनुरूप बैठकमा कांग्रेसलाई पेलेर अगाडि बढेको बताए।

उनले संसद्‌मा जबरजस्ती कार्यसूची प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गराएको बताए। उनले सभामुख आफ्नो निष्पक्ष भूमिका निर्वाह गर्न चुकेको बताए।

उनले भने, ‘आज सदनभित्र अन्य सबै प्रतिपक्षी बेन्चमा रहेका प्रायः सबै दलका माननीयहरू आज उठ्नुभएको अवस्था थियो। प्रमुख प्रतिपक्ष दल वेलमा पुगेको र संसद्‌भित्रका अन्य सम्पूर्ण प्रतिपक्ष दलहरू उभिइरहेको अवस्थामा सभामुखले त्योभन्दा अगाडि सत्तापक्षको तीनवटा पार्टीका अध्यक्षहरूसँग परामर्श गरेर आएर जे जति कुरा सदनभित्र गराउन निर्देशन दिइयो। हुबहु त्यसको पालना गरेको देखियो। आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो‚ यसको मूल जिम्मेवारी सभामुखले लिनुपर्छ।’

महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरूलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै त्यस्तो नगर्न चेतावनीदिए।उनले सभामुखले जबरजस्त बैठक अगाडि बढाएपछि कांग्रेसका सांसदहरूले विरोध गरेको भन्दै एमाले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरूलाई निर्देशन दिन खोजेको बताए।

महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताए। उनले सरकारमा बसेका मन्त्रीहरूले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे। उनले सबै फाइल खोले पनि कांग्रेस त्यसका लागि तयार रहेको स्पष्ट पारे।

महामन्त्री थापाले संसदीय छानबिन समिति अनिवार्य शर्त भएको भन्दै समिति नबनेसम्म संसद्‌मा सरकारी काम, कारबाही अगाडि बढ्न नदिने बताए।