images
images

प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले विश्वासको मत फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले चौथो पटक विश्वासको मत लिन लागेका हुन् । उनले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिनका लागि संसदको कार्यसूचीमा समावेश गर्न पत्र पठाएपछि तयारी थालिएको सभामुखको सचिवालयले जनाएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पार्टी विभाजन भएपछि गत वैशाख ३१ गते उक्त पार्टीले सरकारलाई दिएको समर्थन फिता लिँदै बाहिरिएको थियो ।

जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा ९२० बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा १५७ सांसद थिए ।

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले दाहाललाई विश्वासको मत दिएको थियो । दाहालले राखेको पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै मत राखेका थिए ।

राष्ट्रपति निर्वाचनसँगै दाहालले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गरे । परिणामस्वरूप कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलको शीतल निवास यात्रा सुरु भयो । एमालेसँगको गठबन्धन तोडिएपछि दाहालले दोस्रो पटक २०७९ चैत ६ मा प्रतिनिधिसभामा विश्वास पाउँ भनेर प्रस्ताव पेस गरे । दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिएका थिए ।

दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए । दाहालको विपक्षमा ८९ सांसदले राखे भने नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो ।