काठमाडौँ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंका निवारण तथा भरोसायोग्य न्यायप्रणालीको विकासका लागि सम्बद्ध सबै पक्षका प्रयास केन्द्रित हुनुपर्ने बताएका छन्।
शुक्रवारबाट काठमाडौँमा शुरु भएको कानूनव्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन्। प्रधानन्यायाधीश श्रेष्ठले विशेष गरी आम नागरिक विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्यसम्पादन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि नेपाल बार एशोसिएशन, कानूनव्यवसायी र अदालतले मिलेर काम गर्नुपर्ने बताए।
अदालत र बार एशोसिएशन तथा न्यायाधीश र कानूनव्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति रहेको औँल्याउँदै उनले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताए। प्रधानन्यायाधीश श्रेष्ठले आगामी साउनदेखि लागू हुनेगरी पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको भन्दै त्यसमा सुझाव दिन पनि नेपाल बार लगायत सम्बद्ध सबैमा आग्रह समेत गरे।
श्रेष्ठले भने, ‘विधिको शासनको प्रवर्धन एवं न्यायमा पहुँच बढाउन बार एशोसिएशन तथा कानूनव्यवसायीको महत्वपूर्ण भूमिका रहन्छ। अदालत र बार एशोशिएशन तथा न्यायाधीश र कानूनव्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति हो। न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तताका लागि नेपाल बार एशोसिएशनले खेल्दै आएको भूमिका र योगदानको हार्दिक स्मरण र सह्राना गर्छु।’
प्रधानन्यायाधीश श्रेष्ठले संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।