काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन्।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानबिन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरुपिच्छेको धारणा आएको बताए। उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको जिकिर गरे।
उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गरे। सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानबिन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानबिन गर्ने गरी समिति बनाए रास्वपालाई मान्य हुने बताए।
उनले भने, ‘अबदेखि नेपाली कांग्रेसलाई मेरो अनुरोध– तपाईंहरुको सहमहामन्त्रीले एउटा कुरा, महामन्त्रीले अर्को, प्रमुख सचेतकले अर्को, उपसभापतिले अर्को। त्यसैले गर्दा हामीसँग केही माग छ भने लेटरहेडमा लिखित रुपमा लिएर आउनुस्। अब तपाईहरुको मौखिक अभिव्यक्ति विश्वास गर्न गाह्रो छ।’
सांसद झाले गृहमन्त्री रवि लामिछानेले राजनीतिज्ञको रुपमा कुनै अपचलन नगरेको भन्दै विगतका केही व्यवहारिक कुरालाई जोडेर अभियोग लगाइएको दाबी गरे।