काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे अवराेधका कारण संसद् बैठक लगातार अवरूद्ध छ । आज बिहान ११ बजेका लागि राखिएकाे बैठक दलहरूबीच सहमति जुट्न नसक्दा सूचना टाँस गरेर स्थगित भएकाे छ ।
संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता देखाएका छन् । उनले आजै कांग्रेससँग छलफल गर्न खाेजे पनि कार्यव्यस्तता देखाउँदै छलफल शनिबार बिहानका लागि सारेका छन् ।
गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको अडानका कारण बिहीकार संसदको बैठकमा धकेलाधकेलको अवस्था सिर्जना भएको थियो।
सहकारी ठगीका विषयमा छानबिन गर्न समिति बनाउन प्रधानमन्त्री, लामिछानेको दल रास्वपा र विपक्षी कांग्रेस तयार भए पनि रविको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा कुरा नमिलेको अवस्थामा बिहीबारको घटना भएको थियो। घटनापछि दलहरु थप टाढिएका छन्।
कांग्रेससँगको भेटमा प्रधानमन्त्री छानबिनका लागि समिति बनाउन तयार भए पनि सत्ता पक्षको ठूलो दल एमाले यसका लागि तयार छैन।