images

छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक, सत्तापक्षसँगको छलफलपछि कांग्रेससँग फेरि बस्ने

काठमाडौं – संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक लेखक सहभागी छन्।

कांग्रेसका नेताहरुसँग हिजै बेलुका छलफल गर्ने भनिए पनि प्रधानमन्त्री व्यस्त भएका कारण आजका लागि सरेको थियो। संसदमा उत्पन्न गतिरोध अन्त्य गर्न विभिन्न चरणमा वार्ता र संवाद भए पनि निश्कर्षमा पुग्न सकेको छैन।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम किटान गरेर छानविन समिति माग गरिरहँदा प्रधानमन्त्री तयार भए पनि रास्वपा र एमालेले सहमति जनाएका छैनन्।

शनिबार बिहान बालुवाटारमा भएको छलफलमा सहकारी ठगीको विषयमा संसदीय समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन आफू सकारात्मक रहेको प्रधानमन्त्रीले बताएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।