वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधान गरिनुपर्छ : देउवा

काठमाडौं : नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताए। उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गरे। उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए। उनले श्रमिकहरु ठगिनु, दुःख पाउनु नहुने बताए।

उनले भने, ‘नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो। एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन्। एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ। साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ। त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरु रोजगारीमा गएका साथीहरु ठगिनु भएन। दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन्। यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए।