काठमाडौं :- सहकारी सम्बन्धी समस्या छानबिन समिति गठन सम्बन्धी कार्यदलको टिओआरमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी अनुसन्धान गर्न दलहरूबीच सहमति जुटेको छ। आइतबार करिब पाँच घन्टा छलफल गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच यो सहमति जुटेको हो।
यद्यपि यस विषयमा कांग्रेसले छुट्टै छलफल गर्दैछ। रविको नाम नजोड्ने तर उनी जोडिएका सहकारीको नाम राखेर अध्ययन गर्न टिओआरमा सहमति भएको हो।
कांग्रेसले यस विषयमा छुट्टै छलफल गर्न समय मागेपछि आइतबारको संसद बैठक दोस्रो पटक सरेको छ।
अनुसन्धान गर्दा रविको नाम राख्ने वा नराख्ने बिषयमा प्रतिपक्षी कांग्रेसभित्रै मत बाझिएपछि एक मत बनाउन कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। छलफलको लागि कांग्रेसले २० मिनेटको समय माग गरेपछि संसद बैठक केहि धकेलिन पुगेको हो।
कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल छन् । कार्यदलले आजै कार्यादेश तय गर्ने प्रयास गर्दा बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो २ बजेको लागि सारिएको थियो।
कांग्रेसले समय मागेपछि २ बजेको बैठक पनि आधा घन्टाको लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। गृहमन्त्री रवि लामिछाने मुछिएका सहकारी प्रकरणको अनुसन्धानको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि समिति गठनको लागि दलहरूबीच सहमति भएको हो।