images

१५ विघा सरकारी जग्गा हिनामिनामा संलग्न मालपोत प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मातपोत प्रमुखसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार मोलपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध गैरकानूनी रुपमा व्यक्ति विशेषलाई लाभ पुर्याइ राज्यलाई हानी पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक नारायणपुर–८ अन्तर्गतको कित्ता नं ९०८ को क्षेत्रफल १५ बिगाह सार्वजनिक जग्गा २०६८ सालमा व्यक्तिको नाममा पुर्याएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो। उक्त जग्गा फिल्डबुकमा जंगल जनिइसकेर सरकारी सार्वजनिक प्रकृतिको जग्गा भए पनि गैरकानुनी रुपमा कित्ताकाट गरी व्यक्तिको नाममा नामसारी भएको थियो।

आयोगले नापी सर्वेक्षक दशरथ मण्डल, जग्गा धनी पुर्जा लिने विन्द्रा रावल, कमलबहादुर रावल, सुशिल रावल र विमलबहादुर रावललाई पनि विपक्षी बनाएको छ।